गत फाल्गुन ३ गते बेलुकी काँग्रेस नेता तथा सांसद चन्द्र भण्डारीको काठमाडौंको बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा नेता भण्डारी र उनकी आमा जलेर घाइते भए। सांसद भण्डारी र उनकी ८६ वर्षीया आमालाई सिभिल अस्पताल हुँदै कीर्तिपुर अस्पताल लगेर आइसीयूमा उपचार थालियो । सांसद भण्डारीको २५–३० प्रतिशत तथा उनकी आमाको ७० प्रतिशत सम्म शरीर जलेको अस्पतालले प्रेस विज्ञप्ती जारी गरेर जानकारी दियो । नेता भण्डारीकी आमा हरिकला भण्डारीको बुधबार राती नै कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भयो । सांसद भण्डारीलाई थप उपचारका लागि श्री एयर लाइन्सको एयर एम्बुलेन्समार्फत् मुम्बईस्थित नेसनल स्किन वर्न अस्पताल लगियो।
कीर्तिपुर अस्पतालले देशमा उपलब्ध साधन र स्रोतबाट यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देश बाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान सिफारिस गरेको थियो। फाल्गुन ५ गते पहिलो सर्जरी सफलतापूर्वक सम्पन्न भएसँगै सांसद भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ। फाल्गुन १० गते उनलाई भेन्टिलेटरबाट बाहिर निकालियो। उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीको सबै पारामिटर नर्मल छन्। फोक्सोको तल्लो भागमा थोरै इन्फेकसन देखिएको अहिले भण्डारी बोल्न थालेका छन् ।
यो त एक प्रतिनिधी घटना मात्रै हो । देशको संघीय सांसद समेत रहेका भण्डारी र उनकी आमा घटनामा परेको र आमाको निधन समेत भएकोले यस घटनाले राम्रै समय सञ्चार माध्यमको कभरेज पनि पायो । तर यस्ता घटना आजकल आम बनेका छन् । गत कात्तिक १९ गते ललितपुर मंगलबजार नजिक एक घरमा ग्यास सिलिन्डर बिस्फोट हुँदा चार जनाको मृत्यु भयो। मृत्यु हुनेमा घरधनी लक्ष्मी कृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नाति निर्जल थिए। घरको तेस्रो तलामा बालेर छाडेको दियोबाट पर्दा जली सुरु भएको आगलागी चौथो तलास्थित भान्सासम्म पुगेर सिलिन्डर पड्कियो र चार जनाको मृत्यु भयो। घटनाबारे जानकार भान्सामै रहेको अर्को सिलिन्डर केही नभएको बताउँछन्। आगलागीकै कारण हो भने दुवै सिलिन्डर पड्किनुपर्ने उनीहरुको तर्क छ।
ललितपुर कै हौगालस्थित तामा पित्तल वेल्डिङ गर्ने कारखानामा ग्यास सिलिन्डर पड्किँदा घटनास्थलमै एक र उपचारका क्रममा अन्य दुई जनाको मृत्यु भयो। मृत्यु हुनेमा धु्रव ताम्राकार, राजेश ताम्राकार र सुरेश ताम्राकार छन् । दुवै घटनामा पड्किएका सिलिन्डर पुरानो भएको देखिन्छ। सिलिन्डर सुरक्षित र नयाँ भइदिए बिस्फोट हुँदैनथ्यो कि ?
यस्तो प्रकारका घटनालाई भवितव्य अन्तर्गत राखिने भएकाले प्रहरीसँग यस्ता घटनाको तथ्यांक छैन। सिलिन्डर पड्किएर भौतिक तथा मानवीय क्षति हुने क्रम बढेपछी प्रहरीले भर्खरै तथ्यांक संकलन गर्न थालेको छ । भान्सामा प्रयोग भएको ग्यास सिलिन्डर बिस्फोट हुँदा धनजनको क्षति हुने गरेको छ । यसमा सरकारको लापरबाही मुख्य कारक रहेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन् । ‘ग्यास सिलिन्डरजस्तो अति संवेदनशील वस्तु गुणस्तरीय छ/छैन ? लिक भइरहेको पो छ कि ? सरकारी निकायले नियमन गर्नुपर्ने हो’, अध्यक्ष बानियाँ भन्छन्, ‘एउटा सिलिन्डर १०-१२ वर्षसम्म मात्रै प्रयोग गर्न उपयुक्त देखिन्छ । तर, यहाँ २० औं वर्ष पुराना सिलिन्डर पनि हाम्रा भान्सामा देखिन्छन्। ग्याससँगै लेदो भेटिन्छन् । कसले नियमन गर्ने ?’ आधिकारिक निकाय नेपाल आयल निगम भए पनि यो विषय उसको प्राथमिकतामा नपरेको बानियाँ बताउँछन्।
एलपी ग्यास उद्योग संघका महासचिव कृष्णभक्त श्रेष्ठ राखेको ठाउँमा सिलिन्डर आफैं पड्किन्छ भन्नुमा सत्यता नभएको तर्क गर्छन्। उनी भन्छन्, ‘सिलिन्डर पड्किन आगोको नजिक पर्नुपर्ने हुन्छ। महासचिव श्रेष्ठका अनुसार २०२८ सालमा सुरु भएको नेपाली ग्यास उद्योगमा अहिले ६० वटा उद्योग छन् जसमा १ करोड ५० लाख सिलिन्डर छन् । देशभर चारवटा कम्पनीमार्फत खाली सिलिन्डर उत्पादन हुन्छ । प्रत्येक कम्पनीले सिलिन्डरको हाइड्रो जाँच गर्नुपर्छ। श्रेष्ठका अनुसार सरकारले गुणस्तर चिह्न प्रदान गरेपछि मात्रै ग्यास भरी बजारमा पठाइने हुँदा सिलिन्डरको क्षमतामा प्रश्न गर्ने ठाउँ छैन। ग्यास भरिसकेपछि सिलक्याप लगाउने बेला पनि पुनः चेकजाँच हुन्छ । उनका अनुसार सिलिन्डरको म्याद यति नै भन्ने छैन। उत्पादनको पहिलो ७ वर्षमा पूरै रिफाइन गरिन्छ र अर्को ५/५ वर्षमा पुनः रिफाइन गरिन्छ । सिलिन्डरमा खराबी नआउँदासम्म प्रयोग गरिन्छ । नेपाल ग्यासको ४० वर्ष पुरानो सिलिन्डर पनि प्रयोगमै छ । पुराना र खराबी देखिएका सिलिन्डर काटेर टुक्रा–टुक्रा पारेर कवाडीमा पठाउने गरिएको छ । २०७५ माघसम्म ६० ग्यास उद्योगबाट २९ हजार १ सय ९६ वटा पुराना सिलिन्डर त्यसरी कवाडीमा पठाईएको थियो ।
उपभोक्ता हित संरक्षण मञ्चका सदस्य अजय अधिकारीका अनुसार हरेक ग्यास कम्पनीले प्रत्येक सिलिन्डरको १५ लाख बराबरको बिमा गरेका हुन्छन् । बिमा गर्दाको सिरियल नम्बर पनि सिलिन्डरमा लेखिएको हुन्छ। तर, उपभोक्ताले पसलबाट ग्यास ल्याउँदा सिरियल नम्बरसहितको बिल दिइन्न। यसमा नापतौल विभाग, आयल निगम र ग्यास कम्पनीको मिलेमतो भएको उनको शंका छ । उनी भन्छन्, ‘रिटेष्ट नगरी मिति मात्र फेरेर कमसल सिलिन्डर बजारमा पठाएको हुनुपर्छ । बजारमा गुणस्तरीय सिलिन्डर पठाईने भए मक्किएका, कुच्चिएका, लिक भएका सिलिन्डर हाम्रा भान्सामा कहाँबाट आए ? यस्ता सिलिन्डर बाट हुने क्षतिको जिम्मा कसले लिन्छ ?’
आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय धेरैजसो दुर्घटना मानवीय लापरबाहीले हुने दाबी गर्छन् । उनका अनुसार सरकारबाट गुणस्तर चिह्न प्राप्त सिलिन्डर मात्रै बजारमा जान्छ । यसको अनुगमन तथा नियमन गर्ने निकाय नेपाल गुणस्तर तथा नापतौल विभाग हो । दुर्घटनाबाट जोगिन प्रयोगकर्ता सचेत हुनुपर्ने उनको भनाइ छ । उपाध्याय भन्छन्, ‘प्रयोगकर्ताले सुरक्षा मापदण्डमा अपनाउनै पर्छ ।’ निगमकै ग्यास विभाग प्रमुख नेत्र काफ्लेका अनुसार प्रत्येक महिना देशभर करिब ३२ लाख ४० हजार सिलिन्डर खपत हुन्छ । बर्षेनि १५ देखि २० प्रतिशतका दरले ग्यास खपत बढ्दो छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जनका अनुसार प्रायः जसो रेगुलेटर बाट ग्यास लिक भएर दुर्घटना हुने गरेको छ । सिलिन्डर राम्रोसँग प्रयोग नगर्ने, कमसल चुल्हो, रेगुलेटर र रबर प्रयोग गर्ने, प्रयोग गरेपछि ग्यास बन्द नगर्ने जस्ता लापरबाहीले गर्दा धेरैजसो ग्यास सिलिन्डर पड्किने गरेको छ । निगमका ग्यास विभाग प्रमुख काफ्ले थोरै मात्रै पनि सचेतना अपनाए दुर्घटना ९० प्रतिशत घटाउन सकिने तर्क गर्छन् । सिलिन्डरमा हरेक पटक ग्यास भर्दा त्यसभित्र जम्मा भएको लेदो सफा गर्नुपर्ने नियम छ। हरेक सिलिन्डरको पहिलो ५ वर्ष र त्यसपछि हरेक ३/३ वर्षमा हाइडूोलिक चेक गर्नुपर्छ । सिलिन्डरको अवस्था सही भएमा थप ५ वर्ष म्याद थप्न सकिन्छ । म्याद नाघेका, वेल्डिङ गरेर पुनः मर्मत गरेका सिलिन्डर भने प्रयोग गर्न पाइँदैन । सिलिन्डरको यति नै वर्ष म्याद हुन्छ भन्ने कहीँ कतै उल्लेख नगरिएको उनको भनाइ छ । उनका अनुसार दुर्घटना भइहाले प्रत्येक ग्यास उत्पादक कम्पनीले हरेक सिलिन्डरको बिमा गरेका हुन्छन् । ग्यास सिलिन्डर कमसल भएर पड्किएको एकिन भएमा कम्पनीको नियमअनुसार ५ देखी १५ लाखसम्म क्षतिपूर्ति प्रदान गरिन्छ। घाइतेलाई उपचार खर्च तथा मृतक परिवारलाई क्षतिपूर्ति भराउने नियम छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागका सूचना अधिकारी संजीवकुमार ठाकुर ४७ वटा ग्यास कम्पनीले गुणस्तर चिह्न प्राप्त गरेका बताउँछन्। अन्य कम्पनी पनि दर्ता र स्वीकृति प्रक्रियामा छन्। विभागले निरन्तर ग्यास उद्योगमा नियमन र अनुसन्धान गर्छ र गुनासो आएका उद्योगलाई कारबाहीको सिफारिस समेत गर्दै आएको छ । ठाकुरका अनुसार बजारमा पुग्ने ग्यास सिलिन्डरहरू अन्तर्राष्टिूय स्तरकै मापदण्डको भएको हुँदा सिलिन्डर आफैं बिस्फोट हुँदैन ।
खाना पकाउन एलपी ग्यासले धेरै सहज बनायो। अहिले अधिकांशको किचनमा ग्यास सिलिन्डर राखिएकै हुन्छन् । शहरी क्षेत्रमा त झन् एउटै घरमा धेरै भान्सा अनि त्योसँगै धेरै सिलिण्डर पाइन्छ । तर, धेरैलाई यसबाट हुने दुर्घटनाका कारण थाहा नहुन पनि सक्छ । ग्यास लिक भएको ठाउँमा आगोका कुनै स्रोत परे विस्फोटसँगै जल्ने खतरा धेरै हुन्छ। ग्यास लिक भएर भरिएको कोठामा बिजुली बत्ती बाल्दा पनि आगलागी हुन्छ। ग्यास लिक छ भने आगलागी हुन, विस्फोट हुन समय लाग्दैन । ग्यास लिक भएर भरिएको कोठामा बिजुली बलिरहेको छ भने निभाउन हुन्न, निभेको छ भने बाल्न पनि हुन्न। बत्तीको स्विच अन अफ गर्दा प्लगमा आउने सानो झिल्कोले पनि ठूलो आगलागी हुन्छ । प्लग अन अफ गर्दा निस्कने झिल्कोले लाइटरको काम गर्छ । ग्यास राखेको कोठाको झ्यालढोका बन्द गर्नुहुँदैन । भेन्टिलेसन खुला नै छाड्नुपर्छ । जाली सधैं खुला हुनुपर्छ। सकभर ग्यास सिलिन्डरलाई कोठा बाहिरको खाली ठाउँमा स्टोर गर्दा जोखिम कम हुन्छ ।
एरोटेक प्रालिका अध्यक्ष राजेन्द्र कावरा सिलिन्डरको कमजोरीका कारण विस्फोट नहुने दाबी गर्छन्। रेगुलेटर लिक भएर, ग्यास पाइप कमसल भएर वा पाइपमा फोहोर थुनिएर मात्रै विस्फोट हुने गरेको कावराको दाबी छ ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार ग्यास सिलिन्डर विस्फोटमा पछिल्लो ३ वर्षमा देशभर ९ जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन्। प्रायः सबै घटनामा ग्यास लिक भएको खुलेको छ । पसल, घर, वर्कसप, फ्याक्ट्री, कम्पनी, खाजा पसल लगायतका ठाउँमा बढी विस्फोट देखिन्छ । उपभोक्त हित संरक्षण मञ्चका महासचिव विष्णु तिमल्सेनाका अनुसार सिलिन्डर विस्फोटमा मुख्य समस्या लिकेज हो । गुणस्तरीय क्याप लगायो भने लिकेज हुँदैन । प्रत्येक पटक ग्यास भर्दा नया क्याप लगाउनुपर्छ । तर, यहाँका उद्योगले एउटै क्याप धेरैपटक प्रयोग गरिरहेका छन् । नियमनका निकाय चुप छ ।

